Chess himalayanchessacademy

नागोया एसियाडमा नेपालबाट २१ खेलका १११ खेलाडीको सहभागिता हुने

२२ जेष्ठ २०८३, शुक्रबार १६:०८

काठमाडौं । जापानको नागोयामा आगामी असोजमा हुने २० औं एसियाली खेलकुदमा नेपालको तर्फबाट २१ खेलमा १११ खेलाडीसहित कुल १५७ जनाले सहभागिता जनाउने भएका छन् ।

नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले २१ खेलमा १११ खेलाडी, २७ प्रशिक्षक र २१ व्यवस्थापक गरि कुल १५७ जनालाई सहभागी गराउने निर्णय गरेको बताइएको छ । यहीअनुसार देशको अन्तर्राष्ट्रिय सहभागिता गराउने जिम्मेवारीमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्बन्धित खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सहभागी गराउने प्रक्रिया सुरु गर्नेछ ।

नेपालबाट आसन्न एसियाली खेलकुदमा कराते, बक्सिङ, महिला कबड्डी, कुस्ती, उसु, पुरुष क्रिकेट, एथ्लेटिक्स, जुडो, महिला भलिबल, ब्याड्मिन्टन्, नृत्य खेलकुद, साइक्लिङ, गल्फ, र्याफ्टिङ एन्ड कनोइङ, पौडी, स्क्वास, सफ्ट टेनिस, स्केट बोर्डिङ, टेबल टेनिस, आर्चरी र टेनिस खेलमा सहभागिता हुनेछ । तेक्वान्दोका भने सबै खेलाडी छनोट प्रतियोगितामा असफल भएकाले यसपाली एसियाली खेलकुदमा नेपालका तर्फबाट यो खेलको सहभागिता हुने छैन ।

राष्ट्रिय खेलकुद परिषद स्रोतले खेलाडी डटकमलाई उपलब्ध गराएको सूचिअनुसार करातेमा ८ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापक गरि कुल ११ जनाको सहभागिता रहनेछ । यसैगरी बक्सिङमा ७ खेलाडी २ प्रशिक्षक र १ व्यवस्थापक गरि १०, कबड्डीमा १२ खेलाडी २ प्रशिक्षक र १ व्यवस्थापक गरि १५ जनाको सहभागिता रहनेछ ।

कुस्तीमा ६ खेलाडी १ प्रशिक्षक र १ व्यवस्थपक गरि ८, उसुमा ८ खेलाडी २ प्रशिक्षक र १ प्रशिक्षक गरि ११, पुरुष क्रिकेटमा १५ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापक गरि १८, एथ्लेटिक्समा ६ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ८ जनाको सहभागिता हुने बताइएको छ ।

यसैगरी जुडोमा ६ खेलाडी १ प्रशिक्षक र १ व्यवस्थापक गरि ८, भलिबलमा १२ खेलाडी २ प्रशिक्षक र १ व्यवस्थापक गरि १५ जना, ब्याड्मिन्टनमा ४ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ६ जना, नृत्य खेलकुदमा १ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापकले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

त्यस्तै साइक्लिङमा २ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ४ जना, गल्फमा ४ खेलाडी १ प्रशिक्षक र १ व्यवस्थापक गरि ६ जना, र्याफ्टििङ एन्ड कनोइङमा २ खेलाडी १ प्रशिक्षक र १ व्यवस्थापकसहित ४ जना, पौडीमा ४ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ६ जना तथा स्क्वासमा २ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ४ जनाले भाग लिनेछन् ।

खेलाडीलाई प्राप्त सूचिअनुसार सफ्ट टेनिसमा २ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ४ जना, स्केट बोर्डिङमा २ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ४ जना, टेबल टेनिसमा ६ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरि ८ जना तथा आर्चरी र टेनिसमा समान २ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापकका दरले समान ४ जनाले एसियाली खेलकुदमा भाग लिनेछन् ।

आगामी असोज ३ देखि जापानको नागोयामा हुने २० औं एसियाली खेलकुदमा महादेशका ४६ देशबाट १० हजार भन्दा बढि खेलाडीले विभिन्न ४३ खेलमा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले यसपाली पहिलो पटक स्वर्ण पदकसहित कम्तिमा १० पदक जित्ने लक्ष्य बनाएको छ ।