काठमाडौँ, २० जेठ (एजेन्सी) — यसै महिना सुरु हुन लागेको फिफा विश्वकपका लागि उज्वेकिस्तानले आफ्नो २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ। फिफा विश्वकपमा पहिलोपटक डेब्यु गर्न लागेको उज्वेकिस्तानको टोलीमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका युवा डिफेन्डर अब्दुकदिर खुसानोभ समेटिएका छन्।
२२ वर्षीय खुसानोभ जनवरी २०२५ मा फ्रान्सेली क्लब लेन्सबाट सिटीमा आबद्ध भएसँगै प्रिमियर लिग खेल्ने उज्वेकिस्तानका पहिलो खेलाडी बनेका थिए। सिटीका लागि ४७ खेल खेलिसकेका उनले गत सिजन क्लबलाई एफए कप (FA Cup) र काराबाओ कप (Carabao Cup) को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
सन् २००६ मा इटालीलाई विश्वकप जिताएका दिग्गज खेलाडी फाबियो कानाभारोको मुख्य प्रशिक्षणमा उज्वेकिस्तानले यसपटक विश्वकप खेल्दैछ। टोलीको कप्तानी फरवार्ड एल्दोर शोमुरोदोभले गर्नेछन्। उनी रोमाबाट लोनमा इस्तानबुल बासाकसेहिरमा आबद्ध भई सन् २०२५–२६ को सिजन खेलेका थिए।
विश्वकपको समूह ‘K’ मा रहेको उज्वेकिस्तानले जुन १८ मा कोलम्बियाविरुद्ध खेल्दै आफ्नो ऐतिहासिक यात्राको सुरुवात गर्नेछ। त्यसपछि उज्वेकिस्तानले पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DR Congo) सँग प्रतिस्पर्धा गर्ने तालिका छ।
गोलकिपर: उत्किर युसुपोभ (नभबाहोर), अब्दुभोहिद नेमातोभ (नासाफ), बोटिराली एर्गासेभ (नेफ्तची)।
डिफेन्डर (रक्षक): रुस्तम आशुरमातोभ (इस्तेघलाल), फारुख सायफिएभ (नेफ्तची), खोजियाकबर अलिजोनोभ (पाख्ताकोर), शेर्जोध नासरुल्लाएभ (नासाफ), उमर एश्मुरोदोभ (नासाफ), अब्दुकदिर खुसानोभ (म्यानचेस्टर सिटी), अब्दुल्ला अब्दुल्लाएभ (दिब्बा), बेखरूज कारिमोभ (सुर्खोन), जाखोङ्गिर उरोजोभ (दिनामो समरकन्द), आवाजबेक उल्मासालिएभ (एजीएमके)।
मिडफिल्डर: ओटाबेक शुकरोभ (बानियास), जलोलिद्दिन मासारिपोभ (इस्तेघलाल), ओदिलजोन हाम्रोबेकोभ (ट्र्याक्टर), ओस्तोन उरुनोभ (पर्सेपोलिस), जमसिद इस्कन्देरोभ (नेफ्तची), दोस्तोनबेक खामदामोभ (पाख्ताकोर), अब्बोसबेक फायजुल्लाएभ (इस्तानबुल बासाकसेहिर), अक्मल मोज्गोभोय (पाख्ताकोर), अजिजजोन गानिइभ (अल बताह), शेर्जोध एसानोभ (बुखारा)।
फरवार्ड (स्ट्राइकर): एल्दोर शोमुरोदोभ (इस्तानबुल बासाकसेहिर – रोमाबाट लोनमा), इगोर सेर्गेइभ (पर्सेपोलिस), अजिजबेक अमोनोभ (बुखारा)।