काठमाडौँ, २१ जेठ (एजेन्सी) — आगामी जुन ११ देखि उत्तर अमेरिकामा सुरु हुन लागेको सन् २०२6 को फिफा विश्वकपका लागि इराकले आफ्नो २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक ग्राहम अर्नोल्डले घोषणा गरेको टोलीमा इप्सविचका फरवार्ड अली अल-हमादी र म्यानचेस्टर युनाइटेडका पूर्व युवा खेलाडी जिदान इक्बाल समेटिएका छन्।
तर, प्रशिक्षक अर्नोल्डले डन्डी युनाइटेडका डिफेन्डर डारियो नामोलाई भने टोलीमा राखेका छैनन्। हालै मात्र फिनल्यान्ड छाडेर इराकबाट खेल्ने निर्णय गरेका नामोले गत शुक्रबार एन्डोराविरुद्धको मैत्रीपूर्ण खेल (१–० को जित) मा इराकका लागि डेब्यु गरेका थिए। सोही खेलमा स्विडेन छाडेर इराक रोजेका नाशभिल एससीका मिडफिल्डर अहमद कासिमले पनि डेब्यु गरेका थिए र उनलाई भने २६ सदस्यीय टोलीमा समावेश गरिएको छ।
२४ वर्षीय फरवार्ड अल-हमादी बाल्यकालमै परिवारसँगै इराकबाट भागेर लिभरपुलमा बसोबास गर्न पुगेका थिए। सन् २०२४ मा इप्सविचबाट खेल्दै उनी प्रिमियर लिग खेल्ने पहिलो इराकी खेलाडी बनेका थिए। हालै सम्पन्न सिजन उनले लोनमा लिग वान क्लब ल्युटनबाट खेलेका थिए। विश्वकप प्ले-अफमा बोलिभियालाई २-१ ले हराएर इराकलाई ४० वर्षपछि पहिलोपटक विश्वकपमा पुर्याउन अल-हमादी र अनुभवी फरवार्ड आयमेन हुसेनले गोल गरेका थिए।
यसैगरी म्यानचेस्टरमा जन्मिएका २३ वर्षीय मिडफिल्डर जिदान इक्बाल म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट आएका हुन्। युनाइटेडका लागि च्याम्पियन्स लिगमा एक खेल खेलेका उनी सन् २०२३ मा डच क्लब उट्रेचमा आबद्ध भएका थिए।
१०० क्याप जितेका सबैभन्दा अनुभवी गोलकिपर जलाल हसनले टोलीको कप्तानी गर्नेछन्। अस्ट्रेलियन प्रशिक्षक अर्नोल्डले चोटपटक लागेको खण्डमा ब्याकअपका लागि छानिएका तीन गोलकिपर बाहेक कामिल सादीलाई पनि टोलीसँगै राखेका छन्।
विश्वकपको समूह ‘I’ मा रहेको इराकले बोस्टनमा नर्वे, फिलाडेल्फियामा फ्रान्स र टोरन्टोमा सेनेगलको सामना गर्नेछ।
गोलकिपर: फहाद तालिब (अल-तालाबा), जलाल हसन (अल-जावरा), अहमद बासिल (अल-शोर्टा)।
डिफेन्डर (रक्षक): हुसेन अली (पोगोन स्जकजेसिन), मनाफ युनिस, अहमद याह्या, मुस्तफा सादुन (अल-शोर्टा), जैद तहसिन (पाख्ताकोर), रेबिन सुलाका (पोर्ट), अकाम हासिम (अल-जावरा), मर्चास दोस्की (भिक्टोरिया प्लजेन), जैद इस्माइल (अल-तालाबा), फ्रान्स पुट्रोस (पर्सिब)।
मिडफिल्डर: अमिर अल-अमारी (क्राकोभिया), केभिन याकोब (आरहस जीएफ), जिदान इक्बाल (उट्रेच), आइमार शेर (सार्प्सबोर्ग), इब्राहिम बायेस (अल-धाफ्रा), अहमद कासिम (नाशभिल एससी), युसेफ अमिन (एइके लार्नाका), मार्को फार्जी (भेनेजिया)।
फरवार्ड (स्ट्राइकर): अली जासिम (अल-नज्मा), अली अल-हमादी (इप्सविच), अली युसेफ (अल-तालाबा), आयमेन हुसेन (अल-कर्मा), मोहानद अली (दिब्बा)।