काठमाडौँ, २१ जेठ (एजेन्सी) — आगामी जुन ११ देखि संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको फिफा विश्वकपका लागि पाराग्वेले आफ्नो २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।
घोषित टोलीमा सन्डरल्याण्डका रक्षक ओमार एल्डरिटे र ब्राइटनका मिडफिल्डर डिएगो गोमेज समेटिएका छन्। यसैगरी, एटलान्टा युनाइटेडका आक्रामक मिडफिल्डर तथा न्युक्यासल युनाइटेडका पूर्व खेलाडी मिगुएल अल्मिरोन पनि २६ सदस्यीय टोलीमा पर्न सफल भएका छन्।
पाराग्वेको टोलीमा ब्राइटनका पूर्व खेलाडी तथा हाल स्ट्रासबर्गमा आबद्ध जुलियो एन्सिसो र इङ्ग्लिस च्याम्पियनसिप क्लब पोर्ट्समाउथका मिडफिल्डर गुस्ताभो काबालेरो पनि समावेश छन्।
दक्षिण अमेरिकी (Conmebol) छनोट चरणमा छैटौँ तथा अन्तिम स्वचालित स्थान प्राप्त गर्दै पाराग्वेले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। सन् २०१० पछि पहिलोपटक विश्वकपमा पुनरागमन गर्न लागेको पाराग्वे समूह ‘डी’ मा रहेको छ।
पाराग्वेले जुन १३ मा आयोजक संयुक्त राज्य अमेरिकाविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। उक्त समूहमा पाराग्वेले टर्की र अस्ट्रेलियाको पनि सामना गर्ने तालिका छ।
गोलकिपर: रोबर्टो जुनियर फर्नान्डेज (सेरो पोर्टेनो), ओर्लान्डो गिल (सान लोरेन्जो), ग्यास्टन ओल्भेइरा (ओलिम्पिया)।
डिफेन्डर (रक्षक): ओमार एल्डरिटे (सन्डरल्याण्ड), जुनियर अलोन्सो (एट्लेटिको मिनेइरो), फाबियन बाल्बुएना (ग्रेमियो), जुआन जोसे कासेरेस (डाइनामो मस्को), जोसे कानाले (लानुस), गुस्ताभो गोमेज (पाल्मेइरास), एलेक्सान्ड्रो माइडाना (टालेरेस), गुस्ताभो भेलाज्क्वेज (सेरो पोर्टेनो)।
मिडफिल्डर: डामियान बोबाडिला (साओ पाउलो), गुस्ताभो काबालेरो (पोर्ट्समाउथ), एन्ड्रेस कुबास (भ्यानकुभर ह्वाइटक्याप्स), माटियास गालार्जा (एटलान्टा युनाइटेड), डिएगो गोमेज (ब्राइटन), माउरिसियो मागाल्हेस (पाल्मेइरास), ब्रायन ओजेडा (ओर्लान्डो सिटी), एलेजान्ड्रो रोमेरो (अल आइन)।
फरवार्ड (स्ट्राइकर): मिगुएल अल्मिरोन (एटलान्टा युनाइटेड), ग्याब्रियल एभालोस (इन्डिपेन्डिन्टे), एलेक्स आर्स (इन्डिपेन्डिन्टे रिभाडाभिया), जुलियो एन्सिसो (स्ट्रासबर्ग), इसिड्रो पिट्टा (ब्रागान्टिनो), एन्टोनियो सानाब्रिया (क्रेमोनेसे), रामोन सोसा (पाल्मेइरास)।