Chess himalayanchessacademy

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

१२ जेष्ठ २०८३, मंगलवार १७:११

काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ ।
प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेल को प्रवद्र्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको हो ।
प्रतियोगितामा सहभागिताका लागि आवेदन फारम जेठ १२ गतेसम्म खुला रहने छ । फारम ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ वाल तथा गैरीधारास्थित नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनको कार्यालयबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाली तथा विदेशी दुबै आरोहीहरूले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा पुरुष तथा महिला गरी छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा हुनेछ । दुबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिङ गुरुङका अनुसार जेठ १४ गतेका दिन बिहान ९ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा प्रमुख अतिथि रहने छन् । यस्तै, मे १५ गते हुने फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको उपस्थिति रहनेछ ।
हालसम्म २२ जना पुरुष र १० जना महिला आरोहीहरूले नाम दर्ता गराइसकेको गुरुङले जानकारी दिए । यस वर्ष करिब ४० पुरुष र १५ महिला सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।
“यस वर्षको प्रतियोगिता विशेष छ, किनभने पहिलो पटक लिड क्लाइम्बिङ विधामा आरोहीहरुले प्रतिस्पर्धा गर्ने छन्,” गुरुङले भने, “अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा मात्र सीमित थिए ।”
तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।
गुरुङका अनुसार यस वर्षको प्रतियोगिता विशेष रूपमा मे २९ तारिखमा आयोजना गरिएको हो । सगरमाथा आरोहणसँग जोडिएको ऐतिहासिक दिनमा साहसिक खेल सम्बन्धी कार्यक्रममै आयोजना हुने भएकाले प्रतियोगितालाई अझ विशेष बनाइएको उनले बताए ।
“हालसम्म मे २९ तारिखलाई मुख्यतः ¥याली, प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रममार्फत मात्र मनाइँदै आएको छ । यस ऐतिहासिक दिनमा प्राविधिक साहसिक खेलसम्बन्धी कार्यक्रमहरू निकै कम हुने गरेका छन् । यस वर्ष पहिलोपटक नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगितालाई अझ प्राविधिक रूपमा आयोजना गर्न लागिएको हो, जसले नेपालको क्लाइम्बिङ क्षेत्रको विकासमा सकारात्मक योगदान पु¥याउने हाम्रो अपेक्षा छ ।” गुरुङले भने ।
“इतिहाससँग जोडिएको यस महत्वपूर्ण दिनमा प्रतियोगिता आयोजना गर्नु तेन्जिङ नोर्गे शेर्पाको साहस र पर्वतारोहण क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानप्रति उच्च सम्मान हो,” गुरुङले थपे ।
प्रतियोगिताले नेपालमा विकसित हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवद्र्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।