Chess himalayanchessacademy

नेपालको पहिलो जित, सेमिफाइनलको सम्भावना बलियो

९ जेष्ठ २०८३, शनिबार १५:४७

काठमाडौँ – नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा आज नेपाल कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको छ।
नेपाली‌ टोली सुरुवातबाटै खेलमा हाबी भएको थियो।

नेपालले पहिलो सेट २५-१८, दोस्रो सेटमा २५-२० र तेस्रो सेट २५-१३ ले जितेको थियो। जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन् ।

समूह एमा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ। भारत ५ अंकसहित शीर्ष स्थानमा छ। कीर्गिस्तानलाई ३ अंकसहित दोस्रो तेस्रो र अंकविहिन माल्दिभ्स समूहको पुछारमा छ।

नेपालले यो जितसँगै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। भोलि माल्दिभ्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ।

आजै यसअघिको खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो। भारतले माल्दिभ्सलाई २५-९,२५-१४ र २५-१७ को सोझो सेटमा हराएको हो। लगातार दोस्रो जितसगै भारतले सेमिफाइनलमा सम्भावना बलियो बनाएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकालेको हो। अर्को समूहमा कजाकस्तानले श्रीलंकालाई २५-९,२५-१८ र २५-१५ ले पाखा लगाएको छ।

च्याम्पियनसिपमा आइतबार तीन खेल हुनेछ।
नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ। समूहको‌ अन्तिम खेल भारत र कीर्गिस्तानबीच सोमवार हुनेछ।