काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको तीन महिनाको निलम्बन फुकुवा गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाखरेलसहित शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको एन्फा प्रवक्त सुरेश शाहले जानकारी दिए। ‘आजदेखि नै हामीमाथि लगाइएको निलम्बन फुकुवा भएको छ। उहाँहरूले केही सर्त राख्नु भएको छैन,’ उनले खेलपाटीसँग भने।
उनका अनुसार बैठकमा शिक्षा तथा खेलकुदमन्त्री पाखरेलसहित खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेपका सदस्यसचिव रामचरित्र मेहता एन्फा महाचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशी उपस्थित थिए। राखेपले खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार कारबाही गर्दै गत ११ चैतमा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
एन्फालाई पटक–पटक दिएको निर्देशन पालना नगरेको, स्वीकृतिबिना निर्वाचन प्रक्रिया अघि बढाउन खोजेको तथा परिषद्बाट माग गरिएका स्पष्टीकरणहरू सन्तोषजनक नआएको आरोप राखेपले लगाएको थियो। विशेषगरी कार्यसमितिको निर्णयविपरीत अगाडि बढेको भन्दै परिषद्ले कडा कदम चालेको थियो।
एन्फाले साधारण सभा (अडिटरी कङ्ग्रेस) र निर्वाचन सम्बन्धी प्रक्रिया परिषद्को स्वीकृतिबिना अघि बढाउन खोजेको थियो। यसलाई प्रचलित कानुनविपरीत भएको ठहर गर्दै राखेपले तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
निलम्बन अवधिमा एन्फाले कुनै पनि प्रशासनिक वा निर्वाचनसम्बन्धी कार्य गर्न नपाउने उल्लेख गरिएको थियो। साथै, यस अवधिमा आवश्यक छानबिन तथा थप निर्णय प्रक्रिया अघि बढाइने पनि परिषद्ले जनाएको थियो। योसँगै सबै कार्य गर्न फुकुवा भएको शाहले जानकारी दिए।