काठमाडौं : नेपाल ‘ए’ टोली तथा घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका देब्रेहाते टप अर्डर ब्याट्सम्यान ईशान पान्डे टोलीमा समावेश भएका छन्।
इशानले नेपाल ‘ए’ को स्कटल्याण्ड र अमेरिकाविरुद्ध जारी सिरिजमा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्। उनले आज स्कटल्याण्डविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए। यस्तै, ओमानविरुद्धको दुई खेलको सिरिजमा दुवै खेलमा अर्धशतक प्रहार गर्दै कुल १२१ रन बनाएका थिए।
इशानले सन् २०१९ सेप्टेम्बरमा टेस्ट राष्ट्र जिम्बाब्वेविरुद्ध सिंगापुरमा टी–२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। त्यसयता राष्ट्रिय टोलीमा नियमित अवसर नपाएका उनले ४ टी–२० अन्तर्राष्ट्रियमा ३३ रन बनाएका छन्। घरेलु क्रिकेट र नेपाल ‘ए’ बाटको निरन्तर प्रदर्शनपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका हुन्।