Chess himalayanchessacademy

कोहलपुर रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

२६ बैशाख २०८३, शनिबार २३:२१

बाँके। आयोजक कोहलपुर रेसिङ साहारा क्लबले चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि जितेको छ।

कोहलपुर २ स्थित कोहलपुर रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै रेसिङले पहिलोपटक उपाधि जितेको हो।

फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो। फाइनल खेल सुरु ५ मिनेटमै रेसिङका १८ नम्बर जर्सीका खेलाडी चेतन चौधरीले गोल गरेका थिए।

दोस्रो हाफको पहिलो मिनेटमै पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरेका थिए। ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन्। त्यसपछि खेल पेनाल्टीमा पुग्यो।

पेनाल्टीमासमेत नतिजा बराबर भएपछि खेल सडेनडेथमा पुगेको थियो। सडेन डेथमा रेसिङका फागुराम चौधरी, चेतन चौधरी, सन्दीप केसी र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारे।

पुलिसका राम वाजी, सञ्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काए। विजेता रेसिङले आठ लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता पुलिसले चार लाख रूपैयाँ प्राप्त गरेको हो।

विधागत विधातर्फ रेसिङका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर ‘प्लेअर अफ टुनामेन्ट’ बन्दै ५१ हजार रुपैयाँ प्राप्त गरे। रेसिङका प्रशिक्षक नजक केसी उत्कृष्ट प्रशिक्षक बन्दै मेडल प्रमाणपत्र र दश हजार रुपैयाँ प्राप्त गरे।

रेसिङका चेतन चौधरी वेष्ट डिफेन्डर र लक्ष्मण रानामगर ‘राईजिङ प्लेयर अफ द टुर्नामेन्ट’ बन्दै नगद १०/१० हजार रुपैयाँ प्राप्त गरे। पुलिसका शत्रुधन चौधरी उत्कृष्ट गोलकिपर, राम वाजी उत्कृष्ट मिडफिल्डर र आशिष थारु उत्कृष्ट फरवार्ड तथा सर्वाधिक गोलकर्ता बन्दै समान १०/१० हजार रुपैयाँ प्राप्त गरे।