Chess himalayanchessacademy

काठमाडौँमा ४२औँ राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

२३ बैशाख २०८३, बुधबार १३:२४

काठमाडौँ — नेपाल ब्याडमिण्टन संघको आयोजनामा ४२औँ राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता २०८३ वैशाख ३० गतेदेखि जेठ २ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्भड हलमा सञ्चालन हुने भएको छ।

नेपाल ब्याडमिण्टन संघद्वारा आयोजित यस प्रतियोगितालाई Badminton World Federation (BWF) तथा Badminton Asia (BA) को मान्यता प्राप्त रहेको छ भने राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको सहयोग रहनेछ। प्रतियोगिता BWF, BA तथा नेपाल ब्याडमिण्टन संघ (NBA) को नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मेन्स डबल्स, वुमेन्स डबल्स र मिक्स्ड डबल्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि किरण गोपाल कारनजित रेफ्री, अनुप रत्न शाक्य डेपुटी रेफ्री तथा सुमित शाक्य म्याच कन्ट्रोलर तोकिएका छन्।

यस प्रतियोगितामा सातै प्रदेशका साथै तीन विभागीय टोली — त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब — बाट खेलाडीहरू सहभागी हुनेछन्। प्रतियोगितामा कुल ७० पुरुष र ५० महिला खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले नेपाल ब्याडमिण्टन संघद्वारा प्रदान गरिने र्‍याङ्किङ अंकका साथै थप ५० अंक प्राप्त गर्नेछन्। पाँचै विधाका विजेता, उपविजेता तथा दुई तृतीय स्थान हासिल गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिनेछ भने समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई रनिङ शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई नेपाल ब्याडमिण्टन संघले ट्र्याकसुट उपलब्ध गराउनेछ। उद्घाटन समारोहमा सबै टोलीले सम्बन्धित प्रदेश तथा विभागको झण्डासहित ट्र्याकसुटमा मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतियोगिताका प्राविधिक संयोजक तथा उप–महासचिव नवीन विक्रम शाहका अनुसार प्रतियोगिताले राष्ट्रिय स्तरमा ब्याडमिण्टन खेलको विकास र खेलाडीहरूको प्रदर्शन सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।