Chess himalayanchessacademy

मनास्लुको विजयी सुरुआत

१८ बैशाख २०८३, शुक्रबार १०:५४

डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा मनास्लुले नेपाल विद्या सदनलाई ४–० गोलअन्तरले पराजित ग¥यो । मनास्लुका युवराज गल्पती र विमल तामाङले समान २–२ गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगिताको अन्य खेलमा हिलारी ‘बी’, विनायक, क्लिन्टन, बाल व्यवसायी केन्द्र मावि र नोब्सले जित हात पारे ।
हिलारी ‘बी’ ले पशुपति ‘ए’ लाई टाइब्रेकरमा २–१ गोले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । विनायकले लुम्बिनीलाई १–० गोलले पाखा लगायो । विनायकका प्रज्ज्वल खड्काले निर्णायक गोल गरे । क्लिन्टनले प्रेरणालाई १–० गोलले पन्छायो । क्लिन्टनका सिद्धान्त अधिकारीले गोल गरे ।
बाल व्यवसायीले एसएमजीलाई ६–१ को फराकिलो गोलअन्तरले पन्छायो । विजेताका विपिन खत्री र अर्जुन खडायतले समान २–२ तथा योगेन्द्र धामीले १ गोल गरे । एक गोल आत्माघाती थियो । एसएमजीका अभिषेक भण्डारीले सान्त्वना गोल फर्काए । नोब्सले रुद्रमतिमाथि ३–० को जित दर्ता ग¥यो । नोब्सका सुरज विकले २ तथा जेनिश धिमालले १ गोल गरे ।

प्रतियोगिताको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । सेभेन ए साइड स्वरुपको नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत ४ उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । प्रतियोगिता बैशाख २२ गतेसम्म चल्ने छ ।