Chess himalayanchessacademy

टीकापुरमा महिला फुटबल हुने

१७ बैशाख २०८३, बिहीबार ०४:२६

कैलालीको टीकापुरमा रहेको युथ अफ टीकापुर क्लबले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगिता वैशाख २५ गतेदेखि सुरु हुने क्लबका अध्यक्ष अभिषेक शाह जानकारी दिए।‌ उनका अनुसार यसअघि क्लबले हरेक वर्ष नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको थियो। यस वर्षदेखि फुटबललाई पनि समेट्दै खेलकुद गतिविधिलाई थप विस्तार गरिएको उनले बताए।

क्लबका कोषाध्यक्ष दीपक रिमालले प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २ सय २२ र दोस्रो टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु १० हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु ५ हजार ५ सय रुपैयाँका ले पुरस्कार दिइने रिमालले बताए। प्रतियोगितामा देशभरबाट १६ महिला टोली सहभागी हुनेछन्।

युथ अफ टीकापुरकी खेलाडी सीमा बयकले विद्यालयस्तरभन्दा बाहिर पनि विभिन्न प्रतियोगितामा खेल्दै आएको उल्लेख गर्दै आफ्नै मैदानमा ठूलो प्रतियोगिता आयोजना हुनु खेलाडीहरूका लागि गर्वको विषय भएको बताइन्।