काठमाडौँ पुस १६ : आसन्न पुरुष टी–२० विश्वकपअघि श्रीलंकाका दिग्गज फास्ट बलर लसिथ मलिंगा राष्ट्रिय टोलीमा कन्सल्ट्यान्ट फास्ट बलिङ प्रशिक्षकका रूपमा नियुक्त भएका छन्।
श्रीलंका क्रिकेटले जारी गरेको विज्ञप्तिअनुसार मलिंगाको नियुक्ति छोटो अवधिका लागि मात्रै रहेको छ । उनी डिसेम्बर १५ देखि आगामी जनवरी २५ सम्मका लागि नियुक्त भएका हुन् ।
सन् २०१४ मा भारतलाई हराउँदै श्रीलंकालाई टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान मलिंगासँग टी–२० क्रिकेटमा व्यापक अनुभव छ। उनले ८४ टी–२० अन्तर्राष्ट्रिय खेलमा १०७ विकेट लिएका छन् र विशेषगरी डेथ ओभर बलिङका लागि परिचित छन्।
सन् २०२१ मा क्रिकेटबाट सन्यास लिएपछि मलिंगाले विभिन्न टी–२० फ्रेन्चाइज लिगमा प्रशिक्षक तथा मार्गदर्शकको भूमिका निभाएका छन्। उनले २०२२ मा श्रीलंकाको बलिङ प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन्।
श्रीलंका आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को सह–आयोजनाका लागि तयारी गरिरहेको छ, जुन फेब्रुअरी ७ देखि सुरु हुनेछ।
समूह ‘बी’ मा रहेको श्रीलंकाले अष्ट्रेलिया, आयरल्यान्ड, जिम्बावे र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा आयरल्यान्डविरुद्ध कोलम्बोको आर. प्रेमदासा अन्तर्राष्ट्रिय रंगशालामा खेल्नेछ।
विश्वकपअघि श्रीलंकाले पाकिस्तान र इंग्ल्यान्डसँग घरेलु श्रृंखला पनि खेल्नेछ।