काठमाडौं : दसौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ नेपाल पुलिस क्लब, रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित हासिल गरेका छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दिनको पाँचौं तथा अन्तिम खेलमा पुलिसले अर्का विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराएको हो।
पुलिसले एपीएफविरुद्धको खेल क्रमश: २५-२३, २५-२० र २५-१४ ले आफ्नो पक्षमा पार्यो । पुलिसले पहिलो खेलमा कोशी प्रदेशलाई ३-१ को सेटमा हराएको थियो।
लिगमा नेपाल एपीएफ क्लबको भने यो लगातार दोस्रो हार हो । एपीएफ पहिलो खेलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग पनि ३-० को सोझो सेटमा पराजित भएको थियो।
यस्तै, साविक विजेता हेल्प नेपालले दिनको चौथो खेलमा खिल्जी युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । हेल्प नेपालले खेल २५-१९, २५-२० र ३१-२९ ले जित्यो।
हेल्प नेपालले पहिलो खेलमा कोशी प्रदेशलाई ३-० को सेटमा हराएको थियो । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ३-१ को सेटमा पराजित खिल्जीको भने यो लगातार दोस्रो हार हो।
त्यस्तै, रुकुम पश्चिमले दिनको तेस्रो खेलमा कोशी प्रदेशलाई लगातार २५-२३, २५-१७ र २५-२० को सेटमा हराएको थियो । उसले पहिलो खेलमा एपीएफ क्लबलाई पनि ३-० को सेटमा हराएको थियो । पहिलो खेलमा हेल्प नेपालसँग पराजित कोशीको यो लगातार दोस्रो हार हो।
महिलातर्फ न्यू डायमण्ड र पुलिसको अपराजित यात्रा जारी

शनिबारको दोस्रो खेलमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले एभरेष्ट भलिबल क्लबलाई २८-२६, २६-२४ र २५-१४ गरि ३-० को साेझाे सेटमा हराउँदै लिगमा लगातार दोस्रो सफलता हात पारेको थियो।
यसअघि पहिलो खेलमा न्यू डायमण्डले सुदूरपश्चिम प्रदेशलाई पनि ३-० कै सोझो सेटमा हराएको थियो। एभरेष्टको यो दोस्रो हार हो।
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३-० ले पराजित भएको एभरेष्टले दोस्रो खेलमा एपीएफ क्लबलाई ३-१ को सेटमा हराएको थियो।
यस्तै, शनिबार बिहान सम्पन्न दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई क्रमशः २५-१२, २५-२२ र २५-१८ गरि ३-० को सहज सेटमा हराएको थियो । यसअघि आफ्नो पहिलो खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई पनि ३-० को सोझो सेटमा हराएको थियो।
यता, सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग पनि सोझो सेटमा हार व्यहोरेको थियो।
बैशाख १९ गतेसम्म चल्ने लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। नेपाली भलिबल इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको यस प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
उत्कृष्ट खेलाडीलाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ।