घरेलु समर्थकबीच भोजपुर जिल्ला फुटबल संघ भोजपुरले नवौं मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
फाइनलमा सातदोबाटो फुटबल क्लबलाई २-१ ले पराजित गर्दै भोजपुरले उपाधि जित्न सफल भएको हो।
भोजपुर रंगशालामा भएको फाइनल सुरुदेखि नै प्रतिस्पर्धात्मक रह्यो ।
वर्षाका कारण खेल केही समय प्रभावित भए पनि खेलाडीको उत्साहमा कमी आएन। खेल पुनः सञ्चालन भएपछि भोजपुरले आफ्नो पकड कायम राख्दै अन्ततः उपाधि जित्यो।
दर्शकको निरन्तर समर्थनले टोलीलाई थप ऊर्जा दिएको देखिन्थ्यो। भाेजपुरको लागि दाेर्जे तामाङ र सन्ताेष तामाङले गोल गरे। सातदाेबाटाेको लागि राजेश दाहालले गोल गरे।
उपाधि जितेसँगै भोजपुरले ट्रफीसहित ५ लाख र सातदोबाटोले ३ लाख रुपैयाँ प्राप्त गर्यो । व्यक्तिगत विधातर्फ पनि भोजपुरकै खेलाडीहरू हाबी रहे। प्लेयर अफ द म्याच सन्तोष तामाङ घोषित भए । समीर क्षेत्री उत्कृष्ट गोलकिपर र बिनम श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने।
हाई स्कोररतर्फ दोर्जी तामाङ (भोजपुर), समीर तामाङ (सातदोबाटो) र हरि कार्की (एपीएफ) रहेका छन्। उत्कृष्ट खेलाडीको उपाधि भोजपुरका विवेक राईले जिते।भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले पुरस्कार वितरण गरे।