Cheese himalayancheesacademy

राष्ट्रिय लिग विजेताले नै एएफसीको क्लब प्रतियोगिता खेल्ने !

१६ पुष २०८२, बुधबार ०८:३४

काठमाडौँ पुस १६ : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले नै अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने भएको छ ।

राष्ट्रिय लिगको नियमावलीमा एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्ने उल्लेख गरेको छ । तर एएफसीको क्लब प्रतियोगिता खेल्न क्लब लाइसेन्स अनिवार्य छ ।

यदी क्लब लाइसेन्स नभएको क्लबले राष्ट्रिय लिग जितेमा क्लब लाइसेन्स भएकामध्येबाट उच्च स्थान हात पार्ने टिमले एएफसी क्लब प्रतियोगिता खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

तर अहिले नेपालमा कुनै पनि क्लबसँग एएफसी लाईसेन्स छैन । एएफसी लाइसेन्स प्राप्त गर्न आफ्नै घरेलु मैदान, युथ टिम, प्रशासकिन संरचना देखि धेरै मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । तर अहिले नेपालमा कुनै पनि क्लबसँग एएफसी लाइसेन्स छैन ।

यसअघि सहिद स्मारक ए डिभिजन लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्दै आएको थियो । तर पछिल्लो दुई सिजन ए डिभिजन लिग नै आयोजना हुन सकेन ।

यस सिजन पनि ए डिभिजन लिग नहुने भएपछि एन्फाले १७ क्लब समावेश गर्दै राष्ट्रिय लिग आयोजना गर्न लागेको हो । जसमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपको सेमिफाईनल पुगेको ४ क्लब छन् ।

पछिल्लो पटक नेपालबाट लिग विजेता बनेको चर्च ब्वाईज युनाईटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेलेको थियो ।

त्यसपछि लिग नहुँदा २०२५ मा नेपालबाट कुनै पनि क्लब सहभागी हुन पाएन ।