मच्छिन्द्र एफसीले तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
फाइनलमा एनआरटीलाई २-० गोलले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो। दुबै गोल दोस्रो हाफमा भयो।
४७औँ मिनेटमा सौरभ सुब्बाले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए। ५०औँ मिनेटमा मिलन चाम्लिङले अर्को गोल थपे।
एनआरटीले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन। एनआरटी लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्य पूरा भएन।
दुवै टोलीमा राष्ट्रिय र उमेर समूहका खेलाडीहरूको सहभागिताका कारण खेल प्रतिस्पर्धात्मक बनेको थियो।
उपाधिसँगै मच्छिन्द्रले १० लाख र एनआरटीले ५ लाख रुपैयाँ प्राप्त गर्यो । विजेता, उपविजेता टोलीलाई इलाम नगरपालिकाका प्रमुख केदार थापा, क्लब अध्यक्ष सजितसिंह खत्रीलगायतले पुरस्कृत गरे।
मच्छिन्द्रका प्रदीप बुढाथोकी ‘फाइनल म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ८ हजार १ सय रुपैयाँ प्राप्त गरे।
व्यक्तिगत विधातर्फ मच्छिन्द्रका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक , एनआरटीका आशिष गुरुङ उत्कृष्ट डिफेन्डर
, मच्छिन्द्रका युवराज ढकाल उत्कृष्ट मिडफिल्डर, तथा मच्छिन्द्रका प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक घोषित भए।
सर्वाधिक गोलकर्ता मच्छिन्द्रका मिलन चाम्लिङ
जनहीले जनही १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
त्यसैगरी, रेडहर्ष क्लबका विवेक सुनाम ‘उदीयमान खेलाडी’ घोषित हुँदै २५ हजार रुपैयाँसहित ट्रफी हात पारे । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका सनिस श्रेष्ठ बने। उनले ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जिते।
रेडहर्ष फुटबल क्लबको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।