काठमाडौं : मुलुककै सबैभन्दा बृहत अफ रोड रेसिङ सिरिजको शुरुवात आगामी शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ ।डर्ट टेम्पल टाइम एट्याक नाम दिइएको स्पर्धा अफ रोड मोटर स्पोर्ट्सका लागि परिचित डर्ट टेम्पलले आयोजना गर्न लागेको हो। यो स्पर्धा नेशनल मोटर स्पोर्ट्स सिरिज मध्येको एक रहेको र समग्रमा १० वटा स्पर्धालाई समेटिने आयोजकले जनाएको छ। नेपालमा मोटर स्पोर्ट्सको संस्कृतिको प्रवर्द्धन र डर्ट रेसिङलाई प्रतिस्पर्धात्मक साथै नयाँ उचाइमा पुर्याउन यस्ता स्पर्धाले मद्दत गर्ने विश्वास लिइएको छ। स्पर्धाहरु काभ्रेको धुलिखेल र कास्कीको पोखरामा आयोजना हुनेछ।
डर्ट टेम्पलले टाइम एट्याकलाई विशिष्ट र समावेशी बनाउन रेसरले आफ्नै बाइक लिएर आउनु पर्ने बाध्यतालाई हटाएको छ। सबै सहभागीलाई रेसिङका लागि योग्य बाइकहरु आयोजकले नै उपलब्ध गराउनेछ। यस्तो व्यवस्था नेपालमै पहिलो भएको आयोजकको दाबी छ।

राइडर्सले मुख्यतः २ विधामा स्पर्धा गर्न सक्नेछन्। एक्सपल्स २०० मा सहभागी हुनका लागि रेसरले ३ हजार ९ सय ९९ रुपैयाँ र जुमाभ २५० का लागि ५ हजार ४ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ। रेसरहरुबीच दक्षता, प्रविधि र समयमा समान स्तरमा स्पर्धा होस् भनेर उस्तै प्रदर्शन अवस्थामा स्पर्धा गराइने डर्ट टेम्पलले जनाएको छ।
डर्ट टेम्पल टाइम एट्याक केवल रेस मात्र नभएर पूर्ण मनोरञ्जनात्मक इभेन्टको रुपमा समेत रहनेछ। जहाँ मनोरञ्जनका लागि छुट्टै स्थानको व्यवस्था, लाइभ म्युजिक र डिजे सेसन, विभिन्न परिकारका फुड स्टलहरुका साथै हाई स्पीड एवं अद्वितीय रेसिङलाई नजिकबाट नियाल्ने मौका पनि दर्शकले पाउनेछन्।
खेल, जीवनशैली र मनोरञ्जनको संगमका रुपमा डर्ट टेम्पल टाइम एट्याक आयोजना हुनेछ। नेपालमा मोटर स्पोर्ट्सको संरचनागत र दिगो विकासका लागि रणनीतिक रुपमा ल्याइएको १० वटा योजनाबद्ध कार्यक्रममध्ये टाइम एट्याक एक हो। जसले बाइकरहरुका लागि नियमित रेसिङको अवसर सिर्जना गर्नुका साथै प्रतिस्पर्धात्मक र व्यावसायिक रेसिङको संस्कृतिको विकास र नेपाललाई दक्षिण एशियामा अफ रोड मोटर स्पोर्ट्सको हबको रुपमा चिनाउन समेत मद्दत मिल्ने आयोजकले जनाएको छ।
स्पर्धाको सफलतासँगै नेपालमा रेसिङ प्रतियोगिताहरुको छुट्टै र अलग मानक स्थापना हुने विश्वास डर्ट टेम्पलले लिएको छ।