Cheese himalayancheesacademy

NNIPA Sports Award–2082 चैत २० गते

१८ चैत्र २०८२, बुधबार ०९:१४

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (NNIPA) ले २०औं संस्करणको NNIPA Sports Award–2082 आयोजना गर्ने भएको छ। संघले खेलाडीको हकहित संरक्षण, प्रोत्साहन तथा खेल क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले हरेक वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको छ।

प्रेस विज्ञप्तिअनुसार चैत २० गते बनेपामा आयोजना हुने कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडी, प्रतिभाशाली खेलाडी, गजराज आदर्श खेल व्यक्तित्व, उत्कृष्ट खेल पत्रकार तथा वर्ष उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिने जनाइएको छ।

वर्ष उत्कृष्ट खेलाडी (एक पुरुष र एक महिला) लाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट खेलाडीमध्येबाट छनोट हुने एक पुरुष र एक महिलालाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरिनेछ। प्रतिभाशाली खेलाडी (एक पुरुष र एक महिला) लाई जनही ५० हजार रुपैयाँ, गजराज आदर्श खेल व्यक्तित्व र उत्कृष्ट खेल पत्रकारलाई ३५–३५ हजार रुपैयाँ तथा वर्ष उत्कृष्ट पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ।

यस वर्षको अवार्डमा २६ विधाका खेलाडी समावेश गरिएका छन्। जसमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, स्क्वास, ट्रायथलन, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, जिम्नास्टिक, लन टेनिस, हक्की, टेबलटेनिस, बक्सिङ, रग्बी, क्यानोइङ र साइक्लिङ लगायत खेल समावेश छन्।

NNIPA ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्दै खेलकुद क्षेत्रको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ। कार्यक्रममा खेलकुद क्षेत्रका व्यक्तित्व, खेलाडी तथा सरोकारवालाको सहभागिता रहने जनाइएको छ।