काठमाडौं, चैत १८: राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले आफ्नै ट्रेनिङ सेन्टर स्थापना गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले ‘अञ्जन विष्ट ट्रेनिङ सेन्टर’को घोषणा गर्दै युवा लक्षित ‘नेक्स्ट जेन बुट क्याम्प’ आयोजना हुने जानकारी दिए । 
१० दिने बुट क्याम्प चैत्र २१ देखि ३० गतेसम्म ललितपुरको बुद्धिविकास फुटबल मैदानमा सञ्चालन हुनेछ ।
८ देखि १६ वर्ष उमेर समूहका खेलाडीहरूलाई लक्षित गर्दै आयोजना हुने क्याम्पमा दैनिक विहान ८ देखि १० बजेसम्म प्रशिक्षण दिइनेछ । क्याम्पमा एएफसी र फिफा लाइसेन्स प्राप्त प्रशिक्षकहरू सहित विदेशी प्रशिक्षकको समेत सहभागिता रहने आयोजकले जनाएको छ । प्रशिक्षणमा आधारभूत सीपदेखि खेल अनुशासन, मेहनत र धैर्यताजस्ता पक्षमा विशेष जोड दिइनेछ । क्याम्पको अन्त्यमा अभ्यास तथा फाइनल खेल पनि खेलाइनेछ । साथै सहभागीहरूले राष्ट्रिय खेलाडीसँग भेटघाट गर्ने अवसर पनि पाउनेछन् । क्याम्पमा सहभागिताका लागि ८,५०० रुपैयाँ शुल्क तोकिएको छ, जसमा जर्सी, खाजा, प्रमाणपत्र र अन्य उपहार समावेश रहनेछन् । पत्रकार सम्मेलनमा बोल्दै विष्टले आफ्नो लक्ष्य केवल खेलाडी उत्पादन मात्र नभई उनीहरूलाई सफलताको मार्ग सिकाउने रहेको बताए । ‘मैले सिकेको अनुशासन, कडा परिश्रम र समर्पण नै सफलताको सूत्र हो’ उनले भने, ‘१० दिनमै अनुशासन र हारपछि जित्न सकिन्छ भन्ने आत्मविश्वास विकास गराउने हाम्रो उद्देश्य हो।’
विष्टले आफू अझै केही वर्ष उच्च स्तरमै खेल्ने बताए । साथै, नेपाली फुटबल चुनौतीपूर्ण अवस्थामा भए पनि समाप्त नहुने धारणा व्यक्त गरे । ‘जबसम्म हामी छौं, फुटबल पनि जीवितै रहन्छ’ उनले भने ।