Cheese himalayancheesacademy

गोलबजार मेयर गोल्ड कप हुँदै

१८ चैत्र २०८२, बुधबार ०६:५९

सिरहा । गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।प्रतियोगितामा कोशी, मधेश र बागमती प्रदेशका गरी आठ क्लबले सहभागिता जनाउने छन् । आयोजकका अनुसार सिरहाबाट गोलबजार युनाइटेड क्लब, गोलबजार स्पोर्टस् क्लब र सल्हेश युवा क्लब सहभागी छन् भने अन्य टोलीहरूमा राष्ट्रिय जागृति क्लब इटहरी, लालिगुराँस स्पोर्टस् क्लब विराटनगर, ब्रदरहुड फुटबल क्लब उदयपुर, चात्या सा फुटबल क्लब दमक र हेटौँडा फुटबल एकेडेमी छन् । नगरप्रमुख श्यामकुमार श्रेष्ठले स्थानीय खेलकुदको विकासका लागि प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको बताए । उनका अनुसार, नगरबाट प्रतियोगिताका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४ सय ४४ र उपविजेताले दुई लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गरिनेछ । सम्पूर्ण खेल गोलबजार नगरपालिका–२ स्थित गुरुधामको एकीकृत खेलग्राममा सञ्चालन हुनेछन् ।