Cheese himalayancheesacademy

कंगो ५२ वर्षपछि विश्वक छनोटमा

१८ चैत्र २०८२, बुधबार ०६:३४

काठमाडौं । जमाइकालाई १–० ले पराजित गर्दै गणतन्त्र कंगोले फिफा विश्वकपमा स्थान बनाएको छ । यो जितसँगै कंगोले फिफा विश्वकपमा ५२ वर्षपछि स्थान बनायो । यसअघि कंगोले सन् १९७४ मा सम्पन्न विश्वकप खेलेको थियो । यतिबेला यो अफ्रिकी राष्ट्र जाइरे नामले चिनिन्थ्यो ।

सोमबार कंगोलाई विश्वकपमा पुर्‍याउन टोलीका एलेक्स तुआन्जेबे निर्णायक बने । इन्जुरी समयमा तुआन्जेबेले गरेको गोलबाट टोलीले विश्वकपमा स्थान बनाएको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भएपछि टोली प्रतियोगितामा स्थान बनाउने १०औँ अफ्रिकी राष्ट्र बनेको छ । जितसँगै कंगो प्रतियोगिताको समूह ‘के’ मा परेको छ । समूहमा कोलम्बिया, पोर्चुगल र उज्बेकिस्तान प्रतिद्धन्दीका रूपमा छन् ।

विश्वकपमा छनोट भएपछि कंगोका फरवार्ड सेड्रिक बाकाम्बुले खुसी व्यक्त गरेका छन् । “हामी निकै खुसी छौँ । तर, यो जित र सफलताको महसुस अहिले पूर्ण रूपमा गर्न सकेका छैनौँ । जब किन्सहासामा पुगेर घरेलु समर्थकहरूसँग उत्सव मनाउँछौँ तब मात्र जितको सफलता महसुस हुनेछ,” फवार्ड बाकाम्बुले भने ।