काठमाडौँ, चैत १४ — नेपाल भलिबल संघ (एनभिए) ले नेपालको राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यसहित एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग आयोजना गर्ने घोषणा गरेको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले लिग सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।
संघका अनुसार वार्षिक कार्यक्रमअनुसार २०८२ चैत महिनामा आयोजना हुने लिग प्रतियोगिता २०८२ वैशाख १० देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन गरिनेछ। प्रतियोगितामा महिला र पुरुषतर्फ गरी कुल १४ टोलीको सहभागिता रहने जनाइएको छ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश तथा बुद्धशान्ति भलिबल क्लब सहभागी हुनेछन्। यस्तै महिलातर्फ न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश तथा त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ।
प्रतियोगितालाई थप आकर्षक बनाउन नगद पुरस्कारको व्यवस्था गरिएको छ। महिला तथा पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ६ लाख, रु ४ लाख र रु २ लाख ५० हजार पुरस्कार प्रदान गरिने संघले जनाएको छ। यस्तै उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।
संघका अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण (Broadcasting right) हिमालय टेलिभिजनले गर्नेछ। प्रतियोगितामा सहभागी बाहिरका टोलीलाई बसोबास र खानाको व्यवस्था गरिने तथा खेलाडीहरुलाई दैनिक भत्ता उपलब्ध गराइने जानकारी दिइएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब रु १ करोड १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।
नेपाल भलिबल संघले आफ्नो नीतिअनुसार एक टोलीमा बढीमा तीन जना विदेशी खेलाडी समावेश गर्न सक्ने व्यवस्था गरेको जनाएको छ। विदेशी खेलाडीको सहभागिताका लागि सम्बन्धित प्रक्रिया पूरा गर्नुपर्ने बताइएको छ।
संघले राष्ट्रिय खेल भलिबलको व्यावसायिक विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सरोकारवालाको सहयोग र सहभागिताका लागि धन्यवाद व्यक्त गरेको छ।