Cheese himalayancheesacademy

राखेपको निलम्बनमा पर्‍यो एन्फा

११ चैत्र २०८२, बुधबार १३:४३

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ ।

पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेपले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गरेको हो ।

उक्त बुँदामा कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने उल्लेख छ । योसँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा ३ महिना निलम्बनमा परेको हो ।

अहिलेको एन्फा नेतृत्वले आफू पुनः दोहोरिन कार्यकाल सकिनुभन्दा ३ महिनाअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।

एन्फा निर्वाचनका लागि अघि बढेपछि राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दे चैत १३ गते निर्वाचन गर्ने गरी अघि बढेपछि राखेपले कारवाही गरेको हो ।

राखेपले मंगलबार एन्फालाई कारबाही किन हुनु नपर्ने हो ? २४ घण्टाको अल्टिमेटमसहित पत्र पठाएको थियो । एन्फाले निर्वाचन नरोक्ने जवाफ पठाएपछि राखेपले कारवाही गरेको हो ।