Cheese himalayancheesacademy

विमलाले पनि‌ बंगलादेशमा लिग खेल्ने

१६ पुष २०८२, बुधबार ०८:२३

काठमाडौँ पुस १६:  नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबकी‌ डिफेन्डर विमला बिकले बंगलादेशको महिला लिग खेल्ने भएकी‌ छिन्।

विमलाले राजशाही स्टार्स एफसीबाट लिग खेल्ने भएकी‌ हुन्। राष्ट्रिय टोली र आर्मीकी मिडफिल्डर दिपा शाही‌ पनि सोही क्लबमा आबद्ध भएकी छिन्।

विमला र दिपा मंगलवार बंगलादेश पुगिसकेका छन्। बंगलादेश राष्ट्रिय टोलीकी‌ स्टार रितु पोर्ना चक्माले पनि सोही टोलीबाट लिग खेल्ने छिन्। रितु तिनै खेलाडी हुन् जसले साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गरेकी थिइन्।

राष्ट्रिय फुटबल टोलीकै डिफेन्डरद्वय नेपाल पुलिस क्लबका समीक्षा घिमिरे र पूजा राना पनि फाराशगन्ज एससीबाट बंगलादेश लिग खेल्ने छन् । उनीहरु यसअघि नै बंगलादेश पुगिसकेका छन्।

यतिबेला नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी व्यवसायिक फुटबल खेल्न देश बाहिर छन् । बंगलादेश पुगेका ४ जना बाहेक राष्ट्रिय टोलीकी‌ कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिङ्टन फिनिक्स र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भारतीय टोली सेथुमा आबद्ध छिन् ।

११ टोलीको सहभागितामा सुरु भएको बंगलादेश लिग २०२६ को फेब्रुअरी ३ मा चल्नेछ । फाराशगन्जले बिहीवार ढाका रेन्जर्स एफसीसँग र राजशाहीले‌ शनिवार नासरिन स्पोर्टस एकेडेमीसँग पहिलो खेल खेल्नेछ।