काठमाडौं : जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुद सुरु हुन अब १८१ दिन बाँकी छ। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ६ सम्म सञ्चालन हुने एसियाको खेलकुदको ‘महाकुम्भ’ को तयारीमा जापान सरकार जोडतोडले लागेको छ। प्रतियोगिता सञ्चालन गरिने ‘भेन्यु’देखि खेलाडी, प्रशिक्षक र अफिसियललाई राख्ने स्थानसम्मको अन्तिम तयारी जापान सरकारले गरिसकेको छ।
खेलाडीलाई क्रुजमा राखिने
जापान सरकारले एसियाली खेलकुदलाई विशेष र अविश्मरणीय बनाउन प्रतियोगितामा सहभागी एसियाका ४५ राष्ट्रका खेलाडी, प्रशिक्षक र अफिसियललाई ‘क्रुज सिप’मा राख्ने भएको छ। भब्य क्रुजमा खेलाडीको आवास बनाउनका लागि एसियाली आयोजक समितिले ‘कोस्टा सेरेना’ जहाज चार्टर गरेको छ। जसमा चार हजार ६ सय खेलाडी तथा अफिसियललाई राख्ने तयारी गरिएको छ। इटालीको यो भव्य क्रुजमा एक हजार पाँच सयभन्दा बढी क्याबिन रहने जनाइएको छ। समुन्द्रमा तैरिरहने यो क्रुज एसियाली खेलकुद र पारा एसियाली खेलकुद अवधिभर नागोया पोर्टको किंजो तटमा रहने छ।
यसअघिका एसियाली खेलकुदमा सहभागी खेलाडीलाई ‘एथलिट भिजेज’मा राखिँदै आएकोमा यस पटक नयाँ प्रयोगका रुपमा क्रुजमा राखिन लागिएको हो। खेलाडीको आवासीय सुविधा क्रुजमा राख्नका लागि आयोजक कमिटीले सन् २०२५ सेप्टेम्बर ३० मै ‘कोस्टा सेरेना’सँग सम्झौता गरेको थियो। सम्झौता अनुसार एसियाली खेलकुद अवधिभरका लागि आयोजक कमिटीले ‘कोस्टा सेरेना’लाई करिब ३० मिलियन अमेरिकी डलर भुक्तानी गर्नुपर्ने छ। यो रकम महंगो भएको भन्दै जापान सरकारले खेलाडीलाई परम्परागत भिलेजमै राख्ने तयारी थालेपछि ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को आग्रह अनुसार खेलाडीलाई क्रुजमै राख्न लागिएको हो।
इटालीबाट प्रभावित
२०औं एसियाली खेलकुद आयोजक कमिटीले सन् २०२४ मै खेलाडीलाई क्रुजमा राख्ने योजना बनाएको थियो। त्यो योजना अनुसार विभिन्न कम्पनीसँग छलफल पनि गरेको थियो। सिंगो जहाज लामो समयसम्म चार्टर गर्दा महंगो पर्ने भएपछि जापान पछि हटेको थियो। तर, ओसिएले पनि यो योजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आयोजक कमिटीले क्रुज जहाजमा खेलाडी आवास बनाउन लागेको हो। समुन्द्रमा तैरिरहने विशाल क्रुज जहाजलाई खेलाडी आवास बनाउन आयोजक कमिटी इटालीबाट प्रभावित बनेको हो। सन् २०१९ मा नेपल्समा भएको समर युनिभरसियाडमा इटालीले क्रुजलाई खेलाडी आवासका रुपमा प्रयोग गरेको थियो। ११ दिनसम्म चलेको समर युनिभरसियाडमा ‘कोस्टा भिक्टोरिया’ र ‘एमएससी लिरिका’ले ७० भन्दा बढी देशका चार हजार बढी खेलाडी र अफिसियललाई आवासीय सुविधा दिएको थियो।
जापानी सञ्चार माध्यम चुनिची सिम्बुनका अनुसार एसियाली खेलकुदमा खेलाडी र अफिसियललाई क्रुज जहाजमा पहिलो पटक राख्न लागिएको हो। ‘कोस्टा सेरेना’ले करिब चार हजार ६ सय खेलाडी र अफिसियललाई मात्रै आवासीय सुविधा प्रदान गर्न सक्छ। अरु दुई हजार चार सय खेलाडी र अफिसियललाई भने अस्थायी आवास र होटलमा राख्ने योजना आयोजक कमिटीले बनाएको छ। परम्परागत एथलिट भिलेजमा उपलब्ध हुने सम्पूर्ण सेवा सुविधा ‘कोस्टा सेरेना’ क्रुजमा पनि उपलब्ध हुनेछ। जसमा आवास र भोजनको व्यवस्थासँगै रिक्रिएसन क्षेत्र, डेडिकेटेट मेडिकल सुविधा पनि उपलब्ध हुनेछ।
एसियाका विभिन्न राष्ट्रमा सञ्चालन हुँदै आएको ‘कोस्टा सेरेना’ जहाज सन् २००७ मा निर्माण भएको हो। जहाजलाई खेलाडीको आवासका रुपमा प्रयोग गर्ने सम्झौता भएपछि सन् २०२५ को अन्त्यमा नयाँ रुपमा सजाउनुका साथै विभिन्न सुविधा थप गरिएको थियो। २०औं एसियाली खेलकुद सम्पन्न भएपछि यो विशाल जहाज पश्चिमी गोलाद्र्धमा स्थानान्तरित हुने र अर्जेन्टिनाका लागि ६५ दिनको यात्रा तय गर्ने जनाइएको छ।
नेपालको ३२ खेल दर्ता
प्रत्येक चार वर्षमा हुने एसियाली खेलकुदको २०औं संस्करणमा नेपालले ३२ खेलको दर्ता गरेको छ। नेपाल ओलम्पिक कमिटीले ३२ खेलका दुई सय ३९ पुरुष र एक सय ९५ महिला गरी चार सय ३४ खेलाडीको दर्ता गरेको हो। तर, टिम गेमका लागि वरीयता निर्धारण गर्नुका साथै इन्डिभिज्युएल गेम्समा पनि छनोट चरण पार गरेर मात्रै एसियाली खेलकुदमा सहभागी हुन पाउने नियमका कारण नेपालबाट निकै कम खेलाडी मात्रै सहभागी हुने देखिएको छ।
सरकारले पनि २०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय गरिसकेको छ। राष्ट्रिय खेलकुद परिषद्को १२४औं बोर्ड बैठकले २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय गरेको हो। परिषद्ले २०औं एसियाली खेलकुदमा स्वर्णसहित डबल अंकमा पदक जित्ने लक्ष्यसहित १० खेलका खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन गर्दै आएको छ।
यसअघि सन् २०२३ मा चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो। १९औं एसियाली खेलकुदमा कराते खेलाडी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो।