Cheese himalayancheesacademy

स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

११ चैत्र २०८२, बुधबार ०६:३८
काठमाडाैं :  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ। उनले सामाजिक सञ्जालमार्फत बुधबार बिहान  न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन्।साम्बाका अनुसार खाडी क्षेत्रमा अवस्था अनुकूल नरहेका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजिल्याण्डमै शल्यक्रिया गरिएको हो।
अब चिकित्सककै निगरानीमा रिह्याब (पुनर्स्थापना) प्रक्रिया सुरु हुने र अवस्था सामान्य भएसँगै अस्पेटारमा निरन्तरता दिने उनले बताएकी छन्।
उनले उपचारका क्रममा सहयोग पुर्‍याउने वेलिङ्टन र अकल्यान्डस्थित नेपाली समुदाय, आफू आवद्ध क्लब वेलिङ्टन फिनिक्स तथा व्यवस्थापन टिमप्रति आभार व्यक्त गरेकी छन्।
यसअघि उनले गत फागुन १४ गते उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गरेकी थिइन्।
घुँडाको एसीएलमा राखिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक परेको र अनुमानित ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले उल्लेख गरेकी थिइन्। शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि उनले २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन रोकेकी थिइन्।
साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा न्युजिल्याण्डको क्लब वेलिङ्टन फिनिक्ससँग आबद्ध भएकी थिइन्। उनी गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगअन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्।
खेलको दोस्रो हाफमा हावामा आएको बल हेड गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा उनको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो।
गम्भीर चोटका कारण लामो समय मैदान बाहिर रहनुपरेको साम्बाले यो आफ्नो करियरकै कठिन चरण भएको उल्लेख गर्दै समर्थकको साथले पुनरागमनको यात्रा अघि बढाउने बताएकी छन्।