आसन्न संस्करणको बेल्जियमको ईयू टी–२० लिगमा ८ जना नेपाली खेलाडी देखिने भएका छन्। मंगलबार भएको ड्राफ्टमार्फत ६ जना खेलाडी अनुबन्ध भएसँगै यो लिग खेल्ने नेपाली खेलाडीको संख्या ८ पुगेको हो।
नेपाली ब्याटर आसिफ शेख, ईशान पाण्डे र अनिलकुमार साह, अलराउन्डर गुलशनकुमार झा तथा स्पिनर ललितनारायण राजवंशीले पहिलोपटक विदेशी लिग खेल्ने छन्।
उनीहरूमध्ये ललित, ईशान, अनिल र गुलशन जेबी ब्रुग्समा जोडिएका छन्। यस्तै, आसिफले एन्टवर्प एङ्करबाट ईयू टी–२० खेल्ने छन्। यस्तै, कप्तान रोहितकुमार पौडेलले गेन्ट ग्लेडिएटर्सबाट ईयू टी–२० बेल्जियम खेल्ने छन्।
ड्राफ्टअघि जेबी ब्रुजेसले दीपेन्द्र सिंह ऐरी तथा लिज रेड लायन्सले सन्दीप लामिछानेसँग प्रि–साइन गरिसकेको थियो। जेबी एनपिएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रिम स्पोट्र्सको स्वामित्वमा रहेको छ।
मंगलबार ड्राफ्टमार्फत अनुबन्ध भएका खेलाडीले पारिश्रमिक कति पाउने छन् भन्ने खुलाइएको छैन। अधिकांश नेपाली खेलाडी क्याटागोरी ‘सी’ बाट अनुबन्ध भएका छन्। ईयू टी–२० लिग आउँदो जुन ६ देखि १४ सम्म आयोजना हुनेछ।