काठमाडौं। संकटा फुटबल क्लबले विदेशी खेलाडीहरुले श्रम स्वीकृति बिना पर्यटक भिसामा खेलिरहेको विषयलाई लिएर राष्ट्रिय लिग तथा महिला फुटबल लिग स्थगित भएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
उक्त प्रतियोगिताहरुमा संकटाका दुबै पुरुष र महिला टोलिले सहभागिता जनाएका थिए। संकटाले प्रतियोगिताको नियमावली अनुसार विदेशी खेलाडीहरुलाई विधिवत् अनुबन्ध गरी खेलाइएको प्रस्ट पार्दै आफ्ना विदेशी खेलाडीहरुको श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजातहरु प्रतियोगिता सुरु हुनुभन्दा पहिले नै एन्फामा पेश गरेको जनाएको छ।
राष्ट्रिय लिगहरु स्थगित भएपछि क्लबले सिमित स्रोत र साधनबाट गरेको आर्थिक लगानी जोखिममा परेको भन्दै यसले भविष्यमा फुटबल क्षेत्रमा लगानी गर्न इच्छुक अन्य संघ संस्थालाई समेत निरुत्साहित पार्ने सम्भावना देखिएको क्लबले जनाएको छ। क्लबले प्रतियोगिता पुनः सञ्चालन गर्न माग गर्दै विदेशी खेलाडीहरुको श्रम स्वीकृति तत्काल प्रदान गरिदिन र प्रतियोगिता लामो समय सञ्चालन हुन नसके क्षतिपूर्ति समेत दिन माग गरेको छ।
संकटाले विभिन्न खेलहरुमा सहभागिता जनाएको भन्दै खर्चको विवरण समेत सार्वजनिक गरेको छ।


एन्फाले गत बिहिबार प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित गरेको थियो।