काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।
नारायणी क्रिकेट मैदान विरगञ्जमा कर्णालीले दिएको १२० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। किरण ठगुन्नाले २६, खडक बोहराले २३, मिलन बोहराले अविजित १८ रन जोडे। सुदूरपश्चिमले अतिरिक्त २५ रन पायो।
बलिङतर्फ कर्णालीका दिवन पुन र अनुज चनराले दुई–दुई तथा प्रकाश जैशी र दिपेन्द्र रावतले एक–एक विकेट लिए।
विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको कर्णाली ३२ ओभरमा अलआउट हुँदै ११९ रनमै समेटियो। विपिन रावलले ३३, सुनील धमलाले २८ तथा अरविन्द घर्तीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।कर्णालीलाई सस्तैमा समेट्न हेमन्त धामी एक्लैले ६ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १६ रनमात्रै खर्चिँदा एक मेडन ओभर समेत फ्याँके। यस्तै, शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले एक–एक विकेट लिए।