नेपाल र हङकङ चिन राष्ट्रिय फुटबल टोलीबीच हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। रंगशाला उपलब्धता, साधारण सभा तथा निर्वाचन प्रक्रिया र कानुनी विषयमा एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच विवाद सतहमा आएको छ। फिफा वॆण्डो अन्तर्गत चैत १२ गते काठमाडौँको दशरथ रंगशालामा नेपाल–हङकङ बिचको खेल आयोजना हुने तयारी भइरहेको थियो। तर एन्फाले रंगशाला तथा पूर्वाधार उपलब्ध नगराएको भन्दै खेल स्थगित भएको घोषणा गरेको छ।

राखेपले भने रंगशाला प्रयोगका लागि आधिकारिक पत्रमार्फत स्वीकृति दिइसकेको र सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको बताएको छ।
यता एन्फाले चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ । एन्फाले सोमबार बिहान विज्ञप्ति जारी गर्दै खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ । विवादको मुख्य कारण बनेको विषय एन्फाको साधारण सभा तथा निर्वाचन प्रक्रिया हो। एन्फाले २०८२ पौष १६ गते कार्यसमिति बैठकको निर्णयअनुसार अर्डिनरी कंग्रेस आयोजना गर्ने तयारी गरिरहेको थियो। तर राखेपले आफ्नो विधान र कानुनअनुसार आवश्यक संशोधन नगरी प्रक्रिया अघि बढाउन नहुने भन्दै एन्फालाई पत्राचार गरेको थियो। सामान्यतः यो कदमपछि एन्फा–राखेप विवाद सुरु भएको देखिन्छ।
हालको स्थितिमा एन्फा कार्यसमिति विघटनको चर्चा पनि चलिरहेको छ। यदि सरकारी हस्तक्षेपका कारण फुटबल संघको स्वायत्ततामा असर पुग्यो भने फिफाले प्रतिबन्ध लगाउने सम्भावना पनि छ। रंगशाला उपलब्धता, निर्वाचन प्रक्रिया र कानुनी व्याख्यामा फरक दृष्टिकोणका कारण विवाद बढेको देखिन्छ। दुई संस्थाबीच सुरु भएको टकरावले सोमबार पनि निरन्तरता पाएको छ । फुटबल मैदानमा दुई टिम विपक्षीको पोष्टमा गोल हान्न प्रयास गरेजस्तै अहिले मैदान बाहिर राखेप भर्सेस एन्फा देखिएको छ । यसको प्रभाव नेपाली फुटबल गतिविधि र अन्तर्राष्ट्रिय खेलमा प्रत्यक्ष परेको छ। नेपाली फुटबलको नियामक विवाद समाधान हुन सके मात्र आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता र फुटबल गतिविधि सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।