साफ यू–२० च्याम्पियनसिपको तेस्रो संस्करण माल्दिभ्सको मालेमा आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे सुरु हुनेछ। धर्मेन्द्र कुँवरले साफ यू–२० च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्दै छन्। खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुवैले समूह चरणअन्तर्गत समूह ‘ए’ को पहिलो खेल खेल्न लागेका हुन् । प्रतियोगितामा नेपाल र भुटानसँगै अन्य पाँचवटै सदस्य राष्ट्रको सहभागिता छ । समूह ‘ए’ मा नेपाल, भुटान, माल्दिभस र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालित यो प्रतियोगितामा प्रत्येक शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् । माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको इतिहास त्यति बलियो छैन। नेपालले भुटानसँग पहिलो संस्करणबाटै प्रतिस्पर्धा गर्दै आएको छ। सन् २०१५ मा घरेलु भूमिमा सम्पन्न पहिलो संस्करणमा नेपालले भुटानलाई ३–१ ले हराएको थियो। जतिबेला कप्तान विमल घर्तीमगरले ह्याट्रिक गरेका थिए। त्यसपछिका तीन भेटमा नेपालले भुटानलाई निर्धारित समयमा हराउन सकेको छैन। नेपाल करिब ४० दिनको प्रशिक्षणपछि माल्दिभ्स पुगेको छ। सहभागी सात राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। आजको दोस्रो खेलमा माल्दिभ्सले श्रीलंकासँग खेल्नेछ। यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ।