रुपन्देही । लुम्बिनीमा आयोजित चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पिस म्याराथन त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले जितेका छन् । नेपाल ओलम्पिक कमिटीको अगुवाइमा आज लुम्बिनीमा आयोजित म्याराथन रोकायाले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार गर्दै प्रथम बनेका हुन् ।
प्रथम भएका रोकायाले ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार र स्वर्ण पदक प्राप्त गरे । यस्तै, आर्मी क्लबकै सुशीलकुमार शाहीले दोस्रो स्थान हासिल गरे । उनले निर्धारित दूरी २ घण्टा १८ मिनट १६ सेकेण्डमा पार गर्दै २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । आर्मी क्लबकै नरेन्द्रसिंह रावतले निर्धारित दूरी २ घण्टा १९ मिनट ५८ सेकेण्डमा पार गरी तेस्रो हुन सफल भए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथन पनि आर्मी क्लबकै खेलाडीको वर्चस्व रह्यो । २१ किलोमिटर दूरीको हाफ म्याराथनतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भइन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
यसअघि विभिन्न स्पर्धा जित्दै आएकी धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो स्थान हासिल गरिन् । उनले १ लाख रुपैयाँ प्राप्त गरिन् । आर्मीकी निशा सार्की तेस्रो हुँदै ८० हजार रुपैयाँ प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले बताए ।
ओलम्पिक कमिटीको समन्वयमा भएको लुम्बिनी म्याराथनको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड थिए् । म्याराथनमा नेपालसहित भारत, अमेरिका, नाइजेरिया लगायत देशबाट ६ सय बढी धावक सहभागी थिए । लुम्बिनी स्क्वायरबाट सुरु भएको ४२ दशमलब १९५ किलोमिटरको दौड गौतमबुद्ध विमानस्थल अगाडिसम्म आएर पुनः लुम्बिनीमै पुगेर समापन भएको थियो ।
शान्ति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किमि दौड र वाकथन समावेश गरिएको थियो । प्रतियोगिताका विजेताहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले पुरस्कार वितरण गरेका थिए ।
शनिबार बिहानैदेखि परेको निरन्तर वर्षाका बीचमा सहभागीहरु भिजेरै कार्यक्रममा सहभागिता जनाएका थिए ।