Cheese himalayancheesacademy

एनएसआरए प्रेसिडेन्ट कप स्क्वास राष्ट्रिय लिगको उपाधि विपना र अरहान्त लाई

३० फाल्गुन २०८२, शनिबार १३:३१

काठमाडौं , फागुन २९- शीर्ष वरीयताकी विपना ब्लोन र अरहान्त केशर सिंहले दोस्रो एनएसआरए प्रेसिडेन्ट कप स्क्वास राष्ट्रिय लिगको उपाधि जितेका छन् ।
विपना र अरहान्त लगातार दोस्रो वर्ष च्याम्पियन बनेका हुन् । योसँगै उनीहरुले अर्काे वर्ष २०८३ सम्मका लागि आफ्नो वरीयता यथावत राख्न सफल भएका छन् ।
यो वर्ष यसै प्रतियोगितालाई वरियता निर्धारण गर्ने प्रतियोगिताको रुपमा राखिएको थियो ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको महिला एकलतर्फको अन्तिम खेलमा विपनाले दोस्रो वरियताकी स्वस्थानी श्रेष्ठलाई ३-० को सोझो सेटमा पराजित गरिन् ।

विपना ११–५, १२–१० र ११–५ ले विजयी भइन् । उनी अपराजित रहँदै उपाधि जित्न सफल भइन् । उनले कुल ९ खेलबाट (२९८–१२८) अंक जोडिन् ।

त्यस्तै पुरुष एकलको फाइनलमा अरहान्तले अमृत थापामगरमाथि ३–२ को सेटमा पुनरागमन जित निकाल्दै उपाधि जितेका हुन् ।

सुरुवाती दुई सेट ९–११ र ८–११, गुमाएका अरहान्तले अमृतमाथि त्यसपछि ११–५, ११–५ र ११–४ को सेटमा जित निकाले । प्रतियोगिताभर दुई सेट गुमाएको अरहान्तले ९ खेलबाट (३१४–१३५) अंक जोडे ।

उपाधिसँगै विपना र अरहान्तले समान १५ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएको स्वस्थानी र अमृतले समान १० हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै तेस्रो भएको अस्मिता नगरकोटी र पासाङ ब्लोन लामाले समान ५ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

राउन्ड रोविन लिगको आधारमा फागुन २४ गते सुरु भएको प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा १० खेलाडीको सहभागिता थियो ।