Cheese himalayancheesacademy

ICC T20 World Cup : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

२८ फाल्गुन २०८२, बिहीबार ०९:४१

काठमाडौं : भारत र श्रीलंकामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकप–२०२६ मा सहभागी नेपालले दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर (करिब तीन करोड ७७ लाख ५७ हजार रुपैयाँ) पुरस्कार पाएको छ। तेस्रो पटक टीट्वेन्टी विश्वकप खेलेको नेपालले आईसीसीबाट सो पुरस्कार पाएको हो।

आईसीसीले बुधबार टीट्वेन्टी विश्वकपमा सहभागी राष्ट्रलाई प्रदान गर्ने पुरस्कार घोषणा गर्दा नेपालले उक्त रकम पाउने भएको हो। लगातार दोस्रो पटक विश्वकपमा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो। पहिलो खेलमा दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डलाई आच्छुआच्छु पार्दै चार रनको पराजय बेहोरेको थियो। दोस्रो खेलमा नवप्रवेशी इटालीसँग अप्रत्यासित हार बहोरेपछि नेपालको सुपर–८ मा पुग्ने लक्ष्यमा नराम्रो धक्का लागेको थियो। नेपाल इटालीसँग १० विकेटले पराजित भएको थियो।

यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटको पराजय बेहोरेको नेपालले समूह चरणको अन्तिम खेलमा भने स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको थियो। नेपालसँगै समूह चरणबाट बाहिरिएका इटाली, संयुक्त अरब इमिरेट्स (यूएई) र नेदरल्यान्डले पनि समान रकम पाएका छन्। टीट्वेन्टी विश्वकपको एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विश्वकप विजेता भारतले २६ लाख ३९ हजार चार सय २३ अमेरिकी डलर पाएको छ। यस्तै उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६ सय दुई र सेमिफाइनलमा पराजय बेहोरेका दक्षिण अफ्रिकाले १० लाख पाँच हजार पाँच ७७ र इङ्ल्यान्डले नौ लाख ७४ हजार चार सय २३ अमेरिकी डलर पुरस्कार पाएको छ। टीट्वेन्टी विश्वकपको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

यसैगरी सुपर–८ मा पुगेका वेस्ट इन्डिजले पाँच लाख ३८ हजार दुई सय ६९, पाकिस्तानले पाँच लाख २२ हजार ६ सय ९२, जिम्बावेले चार लाख ९१ हजार पाँच सय ३८ र श्रीलंकाले चार लाख ७५ हजार नौ सय ६२ अमेरिकी डलर पाएका छन्।समूह चरणबाटै बाहिरिएका अफगानिस्तान, अस्ट्रेलिया र अमेरिकाले तीन लाख नौ हजार आठ सय आठ अमेरिकी डलर पुरस्कार पाउँदा स्कटल्यान्डले दुई लाख ७८ हजार ६ सय ५४ र आयरल्यान्डले दुई लाख ७१ हजार सात सय ३१ अमेरिकी डलर पुरस्कार पाएका छन्। यसैगरी क्यानडा, नामिबिया र ओमानले दुई लाख २५ हजार अमेरिकी डलर पुरस्कार पाएका छन्। टीट्वेन्टी विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए। २० टोलीलाई चार समूहमा विभाजन गरिएको थियो।