काठमाडौं, फागुन २७: राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानार्थ गृहजिल्ला म्याग्दीमा उनको स्तम्भ बनाइएको छ ।
जिल्ला खेलकुद विकास समितिले अरुणाको सम्मान स्वरुप बेनी नगरपालिका–८, कालिपुल क्षेत्रमा खेलकुद विकास समितिको स्वामित्व रहेको जग्गामा उनको स्तम्भ बनाएको हो ।
खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले अरुणाले देशप्रति दिएको योगदानको सम्मानका साथ स्तम्भ बनाइएको बताए । अरुणा खेलबाट पनि भविष्य बनाउन सकिन्छ भन्ने प्रेरणा बनेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । 
कप्तान अरुणाले स्तम्भ बनाइएको प्रति खुसी व्यक्त गरिन् । उनले यो सम्मानले आउने पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने विश्वास गरिन् । रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीले सन् २०१३ देखि भलिबलमा नेपालको प्रतिनिधित्व गर्दै आएकी छन् ।
उनले सन् २०१९ बाट नेपालको नेतृत्वसमेत गर्दै आएकी छन् । शाहीकै कप्तानीमा नेपालले वुमन्स सेन्ट्रल जोनको उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक र काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक हात पारेको थियो ।