Cheese himalayancheesacademy

साम्बाको उपचारका लागि एकै दिनमा जुट्यो डेढ करोड, ‘अब सहयोग गर्न रोकिदिनुस्’

१२ फाल्गुन २०८२, मंगलवार ११:२६

काठमाडौं ।  राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अब थप सहयोग रोकिदिन अनुरोध गरेकी छन्।

सावित्राले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिइन्। उनले वेलिंगटन फिनिक्स क्लबले बीमा रकममार्फत पनि शल्यक्रिया र पुनर्स्थापनामा सहयोग गरिरहेको बताइन्।

सावित्राले समर्थकहरूलाई सन्देश दिँदै भनिन्, “अदरणीय समर्थकहरू, पछिल्लो २४ घण्टामा मैले पाएको साथ, विश्वास र माया शब्दले वर्णन गर्न सक्दिन। आर्थिक सहयोग मात्र होइन, तपाईंहरूले दिएको साथ र माया मलाई अझ बलियो बनाएको छ। यही उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु।”

उनले थपिन्, “खेलाडीका रूपमा मेरो सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन हो। यही नै मेरो वास्तविक कमाइ हो।”

उनी शल्यक्रियापछि मैदानमा फर्कने दृढ संकल्पसमेत व्यक्त गर्दै भन्छिन्, “म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु र पुनः नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ। तपाईंहरूको माया र समर्थनको साँचो धन्यवाद मेरो पुनरागमन हुनेछ। चाँडै मैदानमा भेटौंला।”