काठमाडौँ : आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
१८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा जित निस्कन सकेन ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रन तथा कप्तान रोहित पौडेलले ३९ रन बनाए । ओपनर कुशल भुर्तेलले २९ रन जोड्दा तेस्रो विकेटका लागि रोहित र दीपेन्द्रबीच ८२ रनको साझेदारी भएको थियो ।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ५५ र कप्तान ह्यारी ब्रूकले ५३ रनको योगदान दिए ।
बलिङमा नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए ।